पहिरोमा ज्यान गुमाएका तनहुँ र गोरखाका सात परिवारलाई शनिबार आर्थिक सहयोग प्रदान गरिएको छ। पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई उक्त सहयोग प्रदान गरिएको हो। पहिरोमा मृत्यु भएका परिवारलाई पूर्वमन्त्री बस्नेत र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। व्यास नगरपालिका–१ निर्मलबस्ती निवासी सरस्वती घर्ती, बन्दीपुर गाउँपालिका–३ तामुङका सरस्वती थापा र हरिमाया सार्कीको पहिरोमा परी ज्यान गएको थियो।

त्यसैगरी, ऋषिङ गाउँपालिका–७ की देवीसरा थापा, वडा नम्बर ८ का खुमबहादुर आलेको परिवारलाई आर्थिक सहयोग दिइएको हो। छिमेकी जिल्ला गोरखाको शिरानचोक गाउँपालिकाका श्रीमान्–श्रीमतीको पहिरोमा परी मृत्यु भएका परिवारलाई पनि आर्थिक सहयोग दिइएको छ। रमनप्रसाद र नन्दकुमारी पाण्डेको पहिरोमा परी मृत्यु भएपछि निजका छोरालाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ। पहिरोमा ज्यान गुमाएका परिवारलाई जनही २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको कांग्रेस जिल्ला सचिव विश्व बाँस्तोलाले जानकारी दिए। उनका अनुसार कुल एक लाख ७५ हजार आर्थिक सहयोग दिइएको छ। केन्द्रीय सदस्य बस्नेतले विपद्का बेला चहर्‍याइरहेको घाउमा मलम लगाउने कार्य गरिएको बताए। पार्टीको विपद् व्यवस्थापन समितिको संयोजकसमेत रहेका बस्नेतले दुःखमा साथ दिनुपर्छ भन्ने कांग्रेसको धर्म भएकाले सक्दो सहयोग जुटाएर सहयोग गरिएको बताए।