Comments Add Comment

राति ९ बजेपछि रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु बन्द गर्न सरकारको आग्रह

काठमाण्डौ – सरकारले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन जिल्ला प्रशासनहरुलाई आग्रह गरेको हो। सूचनामा संक्रामक रोग ऐनबमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।

यसैगरी ठूला सहरहरुमा ५ सयभन्दा बढी र साना सहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ। विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ।

मन्त्रालयले काठमाण्डां, पोखरालगायत ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

यस्तै कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’ का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर