मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँदर धपाउने उपकरण वितरण गर्ने भएको छ । किसानलाई बादरले वषौं देखि दुख दिन थालेपछी ठुलो आवाज निकालेर बादर धपाउने उपकरण बितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो । किसानलाई बादर धपाउन २ सय ८० वटा उपकरण वितरण गर्न लागिएको छ । उपकरण खरिद गर्नका लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ । छिट्टै उपकरण खरिद गरेर किसानलाई वितरण गरिने अध्यक्ष हुमागाईले वताउनुभयो ।

‌गाउँपालिकाले चैत १ गते आइतबार एक सूचना जारी गर्दै निवेदन पेश गर्न भनेको हो । जस अनुसार बाँदर प्रभावित क्षेत्रका टोलविकास संस्था, सहकारी संस्था, कृषक समुह, कृषि फर्महरुले उपकरणको माग गर्न सक्नेछन् । माग गर्दा निवेदकले निवेदनको साथमा संस्था र समुहको हकमा उपकरण माग गरिएको बैठकको प्रतिलिपी, संस्था दर्ता, स्थायी लेखा नंम्बर तथा करचुक्ताको प्रतिलिपी, सम्बन्धित वडाको सिफारिस पत्रका साथ १५ दिन भित्रमा कागजपत्र पेशगर्नु पर्नेछ । गाउँपालिकाले उपकरण निशुल्क वितरण गर्ने भएको छ ।