नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई मार्न षडयन्त्र भए पनि जनताले बचाएको बताएका छन् । शनिबार एक पुस्तक विमोचनमा बोल्दै प्रचण्डले भने, ‘मलाई शत्रुले मार्न खोजे पनि जनताले बचाइरहेका छन् ।’ प्रचण्डले आफूले उठाएको आन्दोलन किसान, मजदुर , दलित, जनजाति, भूमीहिन, महिला तथा सीमान्तकृत लगायत जनताको पक्षमा रहेको र उनीहरूको हकका लागि लडेकाले जनताले आफूलाई सदैव जोगाइरहेको बताए ।

अध्यक्ष प्रचण्डले फेरि एक पटक सत्य, न्याय, गणतन्त्र, संविधान र उपलब्धीहरू संस्थागत गर्न आवाज उठाउने बेला भएको भन्दै जून वर्गका लागि आफूले लडेको थिएँ ति वर्गका अधिकार सुनिश्चित भएकी भएनन् भन्ने चिन्ता आफूलाई रहेको बताए ।पछिल्लो राजनीतितर्फ लक्षित गर्दै उनले कतिपयलाई प्रधानमन्त्रीको लोभ लागेको बेला आफूलाई भने प्रधानमन्त्रीको लोभ नभएको जिकिर गरे। ‘मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन । मैले उठाएका मुद्दा स्थापित होस् भनेर मेरो लडाई जारी छ। मैले सिंगो जीवन जनताको अधिकारको पक्षमा लड्न समर्पण गरेको छु ।