काठमाडौं – सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एपका लागि आवश्यक डेटा निःशुल्क रुपमा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

निःशुल्क मोबाइल डेटाका लागि आवश्यक पहल मन्त्रालयले छुट्टै समिति समेत गठन गरिसकेको छ । यसका लागि नेपाल टेलिकमलाई सर्भरको डिटेल समेत उपलब्ध गराइसकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

साथै एनसेलको सिस्टम समेत नागरिक एपमा यस अघि नै आवद्ध भइसकेकाले डेटा निःशुल्क गराउन प्राविधिक रुपमा खासै समस्या नरहेको बताइएको छ । नागरिक एप चलाउँदा मोबाइल डेटाको शुल्क नलाग्ने व्यवस्था गर्न सेवाप्रदायकसँग छलफल समेत अगाडि बढिसकेको छ ।

यो सुविधा सुरु भएको खण्डमा नागरिक एपमा उपलब्ध सेवा प्रयोग गर्न आवश्यक मोबाइल डेटा निःशुल्क रुपमा प्राप्त हुनेछ । यद्यपी एप डाउनलोड गर्न गुगल तथा एप्पलको सिस्टममा जानुपर्ने भएकाले त्यसमा भने शुल्क लाग्नेछ ।

‘डाउनलोड गरिसकेपछि एप चलाउँदा भने शुल्क नलाग्ने व्यवस्था गर्ने भनिएको हो,’ मन्त्रालय निकट स्रोतले टेकपानासँगको कुराकानीमा भन्यो, ‘यद्यपी कहिलेदेखि यसको सुरुवात हुन्छ भन्ने कुरा चाहिँ अहिले नै यकिन साथ भन्न सकिने अवस्था छैन ।’