सरकारले नागरिक एप  सार्वजनिक गरेको छ । सरकारबाट प्रदान गरिने सबै किसिमका सेवाहरुलाई डिजिटलाईज गरी एकीकृत प्लेटफर्म मार्फत सेवा प्रदान गर्ने उदेश्यका साथ शुक्रबारबाट नागरिक एपको शुरुवात गरिएको हो । 

नागरिक एपको शुभारम्भ सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरूङले गरेका हुन् । हाल परीक्षणको रुपमा बेटा भर्सनमा यो एप सार्वजनिक गरिएको हो । 

परीक्षणको चरणमा एपमा ९ ओटा सरकारी सेवा छनौट गरिएको छ । नागरिकलाई सरकारी सेवाहरु हातहातमा पुर्‍याउन सरकारले नागरिक एप सञ्चालनमा ल्याएको मन्त्री गुरूङले बताए । 

एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न सकिने भएको छ । भने सरकारलाई तिरेको करको जानकारी एपबाटै लिन सकिने छ । 

एप मार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र, तथा मतदात परिचयपत्र सम्बन्धि विवरणहरु प्राप्त गर्न सकिने छ । साथै  नागरिक लगानी कोष,सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएको रकम र ऋणको विवरण जानकारी लिन सकिने छ । 

नागरिक एपबाट हेलो सरकारमा गुनासो समेत गर्न सकिने छ । एपबाट गुनासोको सम्बोधन भयो की भएन भनेर जानकारी समेत लिन सकिने छ । एपबाट सार्वजनिक बिदाको दिन समेत सेवा लिन सकिने छ । 

नागरिक एप गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । एपमा अन्य सेवाहरु पनि थप गर्दैं लगिने बताइएको छ ।