सरकारले चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ’ऐतिहासिक साझेदारी’ भएको भन्दै आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ।विभागका महानिर्देशक प्रकाश जोशीले दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिएका छन्।उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्दै जोशीले जानकारी दिए।विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ।

यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उचाइबारे नेपाल र चीनबीच ऐतिहासिक सहमति भएको बताएकी थिइन्।मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।उचाइ सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई दिएको थियो।गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा बेइजिङ र काठमाण्डूले नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति कायम गरेका थिए।उक्त सहमति पछि नेपाल एक्लैले अघि बढाएर सगरमाथाको उचाइ मापन अभियानमा उत्तरी छिमेकी बेइजिङ पनि मिसिन पुगेको थियो।