उद्योगको अनुगमनको क्रममा घुस लिने गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ। घुस लिएको आरोपमा कार्यालयका कर्मचारीहरु सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई प्रशासनले नियन्त्रणमा लिएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए।

उनीहरुले वीरगञ्ज महानगरमा रहेको एक टेक्सटायल उद्योगबाट ११ हजार रुपैयाँ घुस लिएको प्रशासनले जनाएको छ। टेक्सटायल उद्योग अनुगमनको क्रममा उनीहरुले तौल गर्ने मेसिन खराब छ भनेर नियन्त्रणमा लिएका थिए। पछि बार्गेनिङ गरेर ११ हजार रुपैयाँ घुस लिएपछि उद्योगलाई फिर्ता गरेका थिए। घुस लिएको उजुरी प्रमुख जिल्ला अधिकारी समक्ष पुगेपछि चारैजनालाई प्रशासनले नियन्त्रणमा लिएको हो। घुस लिएर चारैजनाले गाडीमा नै बाँडेको पनि उनीहरुले स्वीकार गरिसकेको प्रशासनले जनाएको छ।