वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको शिलान्यास भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ११ र १२ नम्बर वडालाई जोड्न राप्ती खोलामा निर्माण हुन लागेको दुईसय १५ मिटर लामो पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको हो । शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी समेत रहेको हेटौंडा शहरलाई विस्तारित गर्न पुलले भूमिका खेल्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले सरकारले बाटो, घाटो र पुलसँगै प्रदेशको समग्र विकासमा फड्को मारेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले वर्तमान सरकार विकासमैत्रि रहेको उल्लेखगर्दै गाउँगाउँमा विकासका पूर्वाधार निर्माण गर्नमा जुटेको बताउनुभयो । हेटौंडा ११ का वडाअध्यक्ष ललित घलानले पुल निर्माणको योजना ल्याएर विकट क्षेत्रको रूपमा रहेको पदमपोखरी क्षेत्रलाई दोस्रो हेटौंडाको रूपमा परिणत गर्न प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले भूमिका खेल्नुभएको उल्लेख गर्नुभयो । हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीले पुलको निर्माणपछि हेटौंडाको मध्यबजार क्षेत्रको सवारी चापलाई कमगर्ण सहयोग पुग्ने बताउनुभयो । कूल रकम रु २६ करोड ४१ लाख ८७ हजार २०० मा निर्माण सम्पन्न हुने सम्झौता भएको पुल साविकको हेटौंडा ११ र साविकको पदमपोखरी गाविसलाई जोड्ने छ । पुल २१५ मिटर लामो र ११ मिटर चौडाइ भएको हुने जनाइएको छ । ४ वटा स्पान हुने पुलको गाडी हिड्ने भाग ७।५ मिटर तथा फुटपाथ १।५ मिटरको हुनेछ ।