
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
निमोनियाका कारण गएको साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीमा रहेको हिमाल अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाण्डाैको गैरीधारामा भएको थियो ।
उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँका नाति अवनी दीक्षितका अनुसार दीक्षितको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




