तीजमा रेडियो मकवानपुरले जागरुक महिला सम्मान गर्ने

अनलाइन पत्र संवाददाता२०७६-०४-२६ No Comments

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको पर्व हरितालिका तीजलाई यसबर्ष पनि जागरुक महिला सम्मान कार्यक्रम गरेर मनाउने भएको छ । रेडियोले स्थापनाकालदेखि नै तीजको अवसरमा जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यही भदौ १२ गते बिहीबार तीज विशेष कार्यक्रमकाबीच तीज विशेष कार्यक्रममा समाजमा अतुलनीय योगदान पु¥याएका २ अगुवा महिलालाई ‘जागरुक महिला सम्मान–२०७६’ प्रदान गरिने भएको हो । नगद १० हजार रुपैयाँसहित दुई महिलालाई जागरुक महिला सम्मान प्रदान गरिने रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । 
‘अघिल्ला बर्षहरुमा झैँ यस बर्षपनि विशेष कार्यक्रमका बीच जागरुक महिला सम्मान प्रदान गर्नेछौं’, रेडियोका अध्यक्ष पराजुलीले भने, ‘हरितालिका तीजमा जागरुक महिला सम्मान र बार्षिकोत्सवको अवसरमा सामुदायिक सम्मान प्रदान गर्दै आएका छौँ ।’ जागरुक महिला सम्मानमा सम्मानित हुने व्यक्तिको छनौटको लागि रेडियो सञ्चालक समितिका सदस्य राममणि दाहाल, सर्मिला डंगोललगायतको समिति निर्माण गरिएको छ ।

जागरुक महिला सम्मानबाट यसअघि २०७० सालमा गढीका सीतादेवी तिमल्सिना र आमभञ्ज्याङका सुलोचना स्याङ्तान, २०७१ मा हेटौंडा–२ का सरिता खरेल र बज्रबाराहीका चमेली वाइबा, २०७२ मा चुरियामाइका मञ्जु थिङ र हेटौंडा–१ का सुनिता नकर्मी सम्मानित भैसकेका छन् । यस्तै २०७३ मा हेटौंडा–२ का कल्पना शर्मा र दामनका हीरा लामा, २०७४ मा हेटौंडा–८ का साहित्यकार बबी थापा र हेटौंडा–१० का महिला उद्यमी सुन्दिरा श्रेष्ठलाई सम्मान गरिएको थियो भने गत बर्ष हाँडीखोलाका ईश्वरी न्यौपाने र हेटौंडा–२ का सूचना श्रेष्ठ पराजुलीलाई सम्मान गरिसकेको छ ।

जागरुक महिला सम्मान कार्यक्रमको तयारीलाई तीव्र बनाइएएको रेडियोका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीले बताए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा संविधानसभा सदस्य एवम् कांग्रेस नेतृ आरजु देउवा राणाको उपस्थिती रहनेछ भने दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनालगायतको विशेष उपस्थिती रहनेछ ।

Chat Icon
Ad
Ad