नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। यो समाचार तयार पार्दासम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ।
यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ। शुक्रबार १ हजार ६ सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ भने ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३१८ जनाको आईसीयुमा र ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही र सुर्खेतमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।