विश्व बजारमा सुनको भाउ तीव्र रुपले बढेको छ। एकै दिन प्रतितोला १५ सयले वृद्धि हुँदै बुधबार प्रतितोला ७० हजार नजिक पुगेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ६९ हजार ५ सय रुपियाँमा कारोबार भएको छ। मंगलबार प्रतितोला ६८ हजारमा कारोबार भएकोमा बुधबार एक हजार ५ सयले बढेर प्रतितोला ६९ हजार ५ सय पुगेको हो।

मंगलबार प्रतितोला २ सय बढेको सुन आइतबार एकैदिन १५ सयले बढेको थियो।

पछिल्लो समय सुनको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ। पछिल्लो एक सातामै प्रतितोला ४ हजार पाँच सय रुपैयाले सुनको मूल्य वृद्धि भएको छ।

महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ।
महासंघका अनुसार गत साता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर ०.२५ प्रतिशतले घटाएको थियो। ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो।पछिल्लो समय सुनको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ। पछिल्लो एक सातामै प्रतितोला ४ हजार पाँच सय रुपैयाले सुनको मूल्य वृद्धि भएको छ।

त्यस्तै, सुनको भाउ बढ्नुको अर्को कारण हो– अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व। केही समयदेखि यी दुई शक्ति राष्ट्रबीच व्यापारमा एकअर्कामाथि भन्सार कर बढाउने प्रतिस्पर्धा भइरहेको छ। जसका कारण विश्वबजार नै प्रभावित भइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ खर्ब डलर बराबरका चिनियाँ सामान आयातमा १० प्रतिशत अतिरिक्त भन्सार दर बढाएको हुनाले सुनको भाउ वृद्धि भएको महासंघको भनाइ छ।

दुई देशबीच व्यापार युद्धलाई मत्थर पार्न विभिन्न चरणमा वार्ता पनि भइरहेका छन्। वार्ताबाट समस्या समाधान गर्ने प्रयास भइरहे पनि कुनै पनि निष्कर्ष नआएकाले लगानीकर्ता सुनमा आकर्षित भएका हुन्।

सुनले यसअघि बनाएको नयाँ रेडर्कलाई तोड्दै अघि बढेको छ। यसअघि सुन प्रतितोला ६६ हजार ३ सयमा पुगेर सर्वाधिक महँगोको नयाँ रेकर्ड बनाएको थियो।

विश्वबजारमा सुनको मूल्यलाई अमेरिका र इरानबीच उत्पन्न भएको तनावले पनि असर गरिरहेको छ। शक्तिशाली राष्ट्रबीच व्यापारिक तनाव उत्पन्न हुँदा स्थानीय बजारमा सुनको भाउ उच्चविन्दुमा पुग्ने गरेको छ।

अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजारमा सुन, तेलको मूल्यलाई थपघट गराउँदै आएको छ।