हेटौंडा । मकवानपुरमा यस बर्ष ७ हजार ४ सय ५६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। चैत ७ गतेबाट सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ।

मकवानपुरमा वर्षको एसइई परीक्षामा नियमित तर्फ ५८६५ ,एक्जाम्टेड तर्फ १५९१ गरी कुल ७ हजार ४५६ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास समन्वय ईकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिएका हुन्।

यस बर्ष हुने एसइई परीक्षाका लागी मकवानपुरका १० स्थानीय तहमा २८ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। यस वर्ष हेटौंडा ४ मा रहेको श्रमिक माविलाई प्राविधिक धार तर्फको परीक्षा केन्द्र र कैलाश ९ मा रहेको कालिका मा वि नामटारमा पनि परीक्षा केन्द्र तोकिएको छ। कालिका माध्यामिक विद्यालय र श्रमिक मा वि थप गरिएको २ वटा परीक्षा केन्द्र हुन्।

७ गतेबाट सुरु हुने परीक्षाको तयारी पुरा भइसकेको जनाइएको छ।उत्तर पुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परिक्षा केन्द्र पठाइ सकिएको र परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण पनि सम्पन्न भइसकेको जनाइएको छ।उनले संघ र प्रदेशबाट प्राप्त हुने उत्तर पुस्तिका र प्रश्नपत्र प्राप्त भइसकेको उल्लेख गरेका छन्। यस वर्ष एसईई परीक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी ४२० सुरक्षाकर्मी खटाइने समन्वय प्रमुख गिरीले जनाएका छन्।