Breaking
7 Dec 2024, Sat

हेटौंडामा खुल्यो बधशाला , सबै व्यवसायीले एकै ठाउँमा राँगाभैंसी बध गर्ने

हेटौंडा–हेटौंडा औद्योगिक क्षेत्रमा एकीकृत बधशाला सञ्चालनमा ल्याइएको छ । हेटौंडा तथा आसपासका मासु व्यवसायीले एकै ठाउँमा पशु बध गर्ने उद्देश्यले निजी लगानीको बधशाला सञ्चालनमा ल्याइएको हो ।

प्रदेश ३ सरकारको समेत अनुदान पाएको बफेलो क्वालिटी फुड प्रालिले आइतबारदेखि हेटौंडा औद्योगिक क्षेत्रमा सेवा सुरु गरेको हो । लामो समयदेखि बन्द अवस्थामा रहेको उद्योगलाई प्रदेश सरकारको विशेष सक्रियतामा एकीकृत बधशालाको रुपमा सञ्चालन गरिएको हो । नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको उद्योगको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार उद्घाटन गरेका हुन् । ५५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा करिब १९ करोड रुपैयाँ लगानी रहेको उद्योगका निर्देशक शैयद रियाज उद्दिनले बताए । प्रदेश सरकारले ७१ लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको छ ।

उद्योगमा प्रतिघण्टा ४० वटा राँगाभैंसी बध गर्ने क्षमता रहेको छ । हेटौंडाभित्र रहेका करिब सयजनाभन्दा बढी मासु व्यवसायीले अब सोही ठाउँमा राँगाभैंसी बध गर्ने सहमति भएको छ । उद्योगमा दैनिक २५ टनसम्म मासु फ्रिजिङ गर्न सकिने क्षमताको मेसिन रहेको छ । हाल राँगा भैंसीको मात्र बध गर्न सुरु गरिए पनि केहीसमयपछि खसी र कुखुरा पनि बध गर्न सुरु गरिने बताइएको छ ।

उद्योगले पहिलो चरणमा हेटौंडा, काठमाडौंसहित देशभरका विभिन्न शहरमा मासु निर्यात गर्ने र दोस्रो चरणमा विदेशसमेत निर्यात गर्ने तयारी गरेको जनाएको छ । उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले स्वस्थ मासु खान पाउने आम नागरिकको अधिकार भएको भन्दै प्रदेश सरकारले हेटौंडा, चितवन र ललितपुरमासमेत पशु बधशाला निर्माणको तयारी गरिरहेको बताए । अव्यवस्थित रुपमा पशुको काटमार भइरहेकोमा स्वस्थ सहर निर्माणका साथै स्वस्थ मासु उपभोझामाझ पु¥याउनको लागि पनि व्यवस्थित बधशाला आवश्यक रहेको पौडेलले बताए ।

उद्योगमा युवा व्यवसायीत्रय समिम मिया अन्सारी, तारिखजु अन्सारी र शैयदरियाज अन्सारीको लगानी रहेको छ । उद्योगमा एकसय ३५ जना कर्मचारी आवश्यक पर्नेमा हाललाई ७५ जना कर्मचारी रहेको बताइएको छ । उद्घाटन समारोहमा प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रदेशका सबै जिल्लामा व्यवस्थित बधशाला निर्माणको योजनाका साथ आफूहरु अघि बढिरहेको सुनाए । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा बजारमा भइरहेको अव्यवस्थित काटमार रोक्दै उद्योगमै पशु बध गर्ने व्यवस्था मिलाइएको बताए ।

Ad
Ad