नेपालको उत्कृष्ट सिगिङ्ग रियालिटी शो नेपाल आईडल सिजन ३ को विजेता सज्जा चौलागाई बनेकी छन् । आईडलको स्टुडियोमा आयोजना भएको ग्राण्ड फिनालेमा सज्जा चौलागाईलाई विजेता घोषणा गरिएको हो । विजेता हुदैँ सज्जा चौलागाईले ट्रफी सहित नगद ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी फस्ट रनरअप हुदै प्रविन वेडवालले नगद १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप हुदैँ किरण कुमार भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन् ।

एपी वान एचडीबाट प्रसारण हुँदै आएको यो सिङ्गिङ रियालिटी सो नेपाली सांगीतिक इतिहासको दर्शकले सर्वाधिक रुचाइएको कार्यक्रम हो । उत्कृष्ट ३ मा मोरङबाट सज्जा चौलागाईं, बर्दियाबाट प्रवीण बेडुवाल र बर्दिबासबाट किरणकुमार भुजेल पुगेका थिए ।

फिनाले कार्यक्रम सीमित मानिस र दर्शकको उपस्थितिमा गरिएको हो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा न्ह्युु वज्राचार्य , इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहेका थिए । नेपाल आइडल टिमको एक सदस्यलाई कोरोना भाईरस पुष्टि भएको कारण विजेताको घोषणा अन्नपुर्ण मिडिया ग्रुपका डाईरेक्टर रामेश्वर थापाले गरेका थिए ।