काठमाडौं – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

हिन्दू नारीहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

तर, कोरोनाभाइरस महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ। तुलनात्मक रुपमा बागमती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए। गोकर्णे औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर भीड हुन नदिए जस्तै ऋषिपञ्चमीका अवसरमा आइतबार बागमती किनारमा स्नानका लागि पनि निषेध गरिएको वृत्तका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए।

बिहानैदेखि वाग्मती, मनोहरा लगायत नदी किनारमा प्रहरी राखेर नदी किनारमा स्नानका लागि भीड जम्मा हुन नदिने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ। नदीमा समूह जम्मा भएर स्नान गर्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो आह्वान गरिएको वृत्तले जनाएको छ।