काठमाडौँ – टेलिकम कम्पनी एनसेल पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । कम्पनी ऐनको बाध्यकारी प्रावधानका कारण एनसेल पब्लिक कम्पनी बनेको हो । यससँगै एनसेललाई सार्वजनिक सेयर जारी गर्ने बाटो खुलेको छ ।

एनसेलले बुधबार सूचना जारी गर्दै आफू पब्लिक कम्पनीमा परिणत भएको र नाम परिवर्तन गरेको जानकारी गराएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले साउन १९ गते एनसेललाई पब्लिक कम्पनीमा रूपान्तरण हुन अनुमति दिएको हो । ‘प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हुँदा यस कम्पनीका सम्पूर्ण काम, कारोबारहरू एनसेल आजियटा लिमिटेड नामबाट गरिने,’ एनसेलद्वारा जारी सूचनामा भनिएको छ ।

०७४ वैशाख १९ मा राजपत्रमा प्रकाशित कम्पनी ऐन, ०६३ लाई संशोधन गर्न बनेको ऐनमा ५ करोडभन्दा बढी चुक्ता पुँजी भएका कम्पनी २ वर्षभित्र पब्लिक कम्पनीमा रूपान्तरण हुनुपर्ने बाध्यकारी व्यवस्था राखिएको थियो । संशोधित ऐनमा ०७४ वैशाख १९ यता दर्ता भएका ५ करोडभन्दा बढी चुक्ता पुँजी भएका प्राइभेट कम्पनी पनि पब्लिक लिमिटेडमा जानुपर्ने व्यवस्था छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, ०७३ अनुसार संगठित संस्थाको जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने हुन्छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा पब्लिक कम्पनीका रूपमा एक आर्थिक वर्ष पूरा गरेको, लेखापरीक्षण तथा साधारणसभा सम्पन्न गरेको जस्ता सर्त पूरा गरेको हुनुपर्छ । यो सर्तका अनुसार एनसेलको सेयर जारी हुन अझै कम्तीमा एक वर्ष लाग्न सक्छ । स्रोत इकान्तिपुर