Comments Add Comment

वनमन्त्री शक्ति बस्नेतले पनि चढ्न थाले विद्युतीय कार

सरकारले विद्युतीय गाडीको प्रयोग बढाउने र डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने नीति लिइरहेका बेला वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले पनि विद्युतीय कार चढ्न थालेका छन्।

मन्त्री बस्नेतले विश्वप्रसिद्ध कोरियाली कार उत्पादक हुन्डाईको कोना कार चढ्न थालेका हुन्। उनको कारको मुल्य ५५ लाख रुपैयाँ पर्ने र पूरा चार्ज गरेपछि यसको ब्याट्रीले ३ सय किलोमिटर गुड्ने बताइएको छ।

पछिल्ला केही वर्षमा अन्य विकसित देशमा जस्तै नेपालमा पनि विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन्। देशभर अहिले ७ सयको हाराहारीमा विद्युतीय कार सडकमा कुदिरहेको अनौपचारिक तथ्यांक छ। यसैगरी मोटरसाइकल ५ हजार ५ सय जति छन् भने इ–रिक्सा ३५ हजार हाराहारीमा छन्।

नेपालको अटो बजार विद्युतीय सवारीसाधनप्रति आकर्षित हुन थालेपछि थुप्रै विश्वप्रसिद्ध कम्पनीले विभिन्न खालका विद्युतीय कार भित्र्याएका छन्। पेट्रोल–डिजेलभन्दा धेरै सस्तो, वातावरणमैत्री र आरामदायी हुने भएकाले सहरी क्षेत्रमा यसको लोकप्रियता बढ्दो छ। तर काठमाडौंभित्रैका खराब बाटो तथा बाहिरका अफरोडमा भने हाल नेपाल भित्रिने गरेका विद्युतीय गाडीको प्रयोग सहज छैन।

सरकारले २०७१ मै वातावरणमैत्री सवारी तथा यातायात नीति जारी गरेको थियो। वायु प्रदुषणका कारण पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने सवारीसाधन घटाउँदै लगेर विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न नीति ल्याएको थियो।

त्यहीअनुरुप विद्युतीय सवारीसाधन आयात गर्दा भन्सार शुल्कमा सहुलियत दिँदै आए पनि कार्यविधि, सवारी सञ्चालनको आवश्यक संरचना तथा पर्याप्त चार्जिङ स्टेसन नबनेको भन्दै सरोकारवालाले आवाज उठाउँदै आएका छन्।

२०२० सम्ममा सरकारी प्रयोगमा २० प्रतिशत विद्युतीय सवारीसाधन ल्याउने र २०३० सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन विस्थापित गर्ने नीति लिइएको छ। विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने सरकारी नीतिअनुरुप वन तथा वातावरणमन्त्री बस्नेतले दुई हप्ताअघिदेखि नयाँ कार चढ्न लागेका हुन्।

मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले रणनीतिक रुपमा वातावरणमैत्री सवारी प्रयोगको सन्देश दिन नयाँ कार चढ्न थालिएको बताए।

‘विद्युतीय सवारी चढ्ने सरकारको नीति छ। त्यही नीतिअनुसार सन्देश दिन मन्त्रीज्युले वातावरणमैत्री गाडी चढ्न थाल्नु भएको हो,’ भट्टले भने।

एक वर्ष पहिले राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय कार चढेकी थिइन्। राष्ट्रपतिको रोजाईमा परेपछि राज्यका उच्च तहका व्यक्तिले पनि विद्युतीय कार चढ्न थालेका थिए। उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले ६ महिनाअघि विद्युतीय कार चढ्न थालेका थिए भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्लेले पनि विद्युतीय कार चढेका थिए।

विश्वभर नै पेट्रोल तथा डिजेलबाट चल्ने गाडीलाई विस्तारै विस्थापित गर्ने रणनीतिअनुसार धेरै देशले विद्युतीय सवारी साधनको उत्पादन तथा प्रयोगमा जोड दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर