काठमाडौं – आज बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । साउन १ गतेदेखि बैंकहरुले अन्तर बैंक कारोबार गर्दा शुल्क लिन सक्नेछन् । तर शुल्क लिने या नलिने भनेर बैंक आफैले निर्णय गर्न पनि पाउने भएका छन् । लिनैपर्ने अनिवार्य पनि हुनेछैन । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका एसोसिएसनहरुले बुधबार उक्त निर्णय गरेका हुन् । यसअघि लक डाउनका बेला यस्तो शुल्क नलिने निर्णय भएको थियो ।  
 एसोसिएसनहरुको निर्णयमा भनिएको छ, ‘हाल प्रायःजसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुलेको र बन्दाबन्दी समेत खुकुलो भई आवत–जावत समेत सहज भइसकेको छ । यसर्थ, साउन १ गतेबाट विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर–बैंक एटिएम प्रयोग गर्दा शुल्क लिने वा नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैंले निर्धारण गर्ने गर्ने सक्छन् ।’

यसअघि कोभिड १९ र लक डाउनको असरलाई मध्यनजर गर्दै बैंकहरु आफैंले यो सुविधा दिएका थिए । कोरोना असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।