केही साता देखि सकृय भएको मनसुनका कारण आज दिनभर जसो सबै स्थानमा पानी पर्ने मौषमविदले अनुमान गरेको छ। निरन्तर परेको पानीले खोलामा पानीको सतह बढ्ने, बाढी, पहिरो जान सक्ने भन्दै सरकारले उच्च सावधानी अपनाउन अनुरोध गरेको छ।

मनसुनजन्य विपद् सरकारका लागि समेत चुनौति बन्दै गएकाले सरकारले गृह मन्त्रालयले मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । लगातारको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान हुने पुर्वानुमानसँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकायलाई तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिम्मेवार निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिएका छन्। कोरोनाको संक्रमणसँगै विपद्जन्य घटनाको पनि सामना गर्नुपर्ने भन्दै उहाँले सबै निकायलाई हाई अलर्टमा रहन समेत निर्देशन दिए।