कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ। गाउँपालिकाको वडा नं. ३ सुसरीया पूल नजिक दिउँसो स्थानीय समाजवादी पार्टीका नेता रामनयन यादव माथि गोली प्रहार भएको हो। उनि उक्त पार्टीका गाउँ कमिटी अध्यक्ष हुन्।

यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवारसमेत बनेका थिए। उनी हाल समाजवादी पार्टीमा छन्। गाउँपालिकाको वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा जादै थिए। उक्त मौका छोपेर मोटरसाइकलमा सवार दुई जना अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो। गोली लागेर यादव घाइते भएको र उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भैरहेको छ।

केही समय अघि पनि त्यस क्षेत्रमा नेकपाको स्थानीय नेता दीपेन्द्र चौधरी (राजाबाबे) को गोली हानी हत्या भएको थियो। उनी पनि गाउँपालिकामा अध्यक्ष र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका थिए।