प्रदेश सरकार–कृषि बैंक समझदारी, अब कृषकले पाउनेछन् सहज ऋण

अनलाइन पत्र संवाददाता२०७६-०४-१५ No Comments

हेटौंडा– कृषि क्षेत्रको विकासको लागि प्रदेश ३ सरकार र कृषि बिकास बैंकबीच समझदारी भएको छ । प्रदेशले कृषिमा दिने अनुदान रकम कृषि विकास बैंकमार्फत प्रदान गर्ने र प्रदेशले अनुदान दिएको ठाउँमा बैंकले आवश्यकताअनुसार ऋण पनि प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रदेश–३ को भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीचको १४ बुँदे समझदारीपत्रमा बैंकको खराब कर्जा उठाउन प्रदेश सरकारले सहयोग गर्ने पनि उल्लेख छ । मंगलबार मन्त्रालयको तर्फबाट सचिव डा. योगेन्द्रकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रदेशको गत साउन ६ गतेको मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रमा लगानी बढाउन कृषि विकास बैंकसँग सम्झौता गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको सिफारिसमा अब बैंकले सहजकर्जा उपलब्ध गराउने छ । साना किसानलाई कृषिमा लगानीको पहुँच बढाउन मन्त्रालयको सिफारिसमा बैंकले सामूहिक जमानी, प्रस्तावना र धितोको आधारमा ऋण दिने सहमति बनेको छ ।

कृषि तथा पशुपन्छीको व्यवसायीकरण, आयात प्रतिस्थापन, मूल्यश्रृखंला विकास र रोजागरी सिर्जनामा टेवा पु¥याउने परियोजनामा बैंकले आवश्यकताअनुसार लगानी गर्ने समझदारीपत्रमा उल्लेख छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायका अनुसार मन्त्रालयको नीति निर्माणमा अब बैंकको पनि भूमिका हुनेछ । स्वदेशी तथा वैदेशिक तालिम, सेमिनार तथा गोष्ठीहरुमा बैंकलाई पनि मन्त्रालयले सहभागी गराउनेछ । प्रदेश ३ मा कृषि विकास बैंकले हाल करिब १२ अर्ब रुपैयाँ लगानी गरेको उनले सुनाए ।

Chat Icon
Ad
Ad