Comments Add Comment

हिमाल मुटु नेपालद्वारा राक्सीराङ का १ सय १० चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न वितरण

हेटौडा – स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्था हिमाल मुटु नेपाल काठमाडौंले मकवापुरको विकट क्षेत्र राक्सीराङ गाउँपालिका ३ का विभिन्न टोलका चेपाङ तथा विपन्न १ सय १० परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको विशिष्ठ आतिथ्यतामा राक्सीराङ गाउँपालिका वडा नम्बर ३ पलाँसे, सिउरानी, गाउँवारी, सानोदेवकोट, आलखोप, सरकारीडाँडा, केराबारी टोलका १ सय १० चेपाङ, तामाङ तथा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो ।

हिमाल मुटु नेपाल र नेता बानियाँको सहयोगमा प्रतिपरिवार २५ किलो चामल, तेल २ लिटर, दाल, नुन, मस्यौरालगायत खाद्य सामाग्रीहरु चेपाङ तथा विपन्न परिवारलाई खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोरोनाको महामारीका कारण सरकारले गरेको लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका चेपाङ तथा विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरूमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने सिद्धस्थली रुरल कम्युनिटी हस्पिटलका अध्यक्ष डा. अवनकृष्ण गौतमले बताउनुभयो ।

२०७२ सालको भुकम्पपछि स्थापित हिमाल मुटु नेपालले विपत तथा महामारीमा देशको विभिन्न भागमा राहात सामाग्रीहरु प्रदान गर्दै आईरहेको र निकट भविष्यमै हेटौंडा उपमहानगरपालिका ६ रामनगरमा १५ शैयाको सिद्धस्थली ग्रामीण सामूदायिक अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढेको संस्थाकी व्यवस्थापक गोमा गौतमले बताउनुभयो ।

संस्थाले यसअघि हेटौंडा उपमहानगरपालिकाको ६ वटा वडाहरुमा लकडाउनमा दैनिक ज्यालादारी गरी छाक टार्नुपर्ने परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको संस्थाले जनाएको छ ।
खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रदेशसभा सदस्य सन्तराम चेपाङ, हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली, राक्सीराङ गाउँपालिकाका उपाध्यक्ष निर्मला हिमडुङ, हिमाल मुटु नेपालकी उपाध्यक्ष डा. रिया शर्मा, कम्युनिटी हस्पिटलकी सदस्य डा. कन्चन दाहाल, गाउँपालिकाका प्रसाकीय अधिकृत युवराज आचार्य, समाजसेवीहरु प्रकाश बर्तोला, सन्तोष थापामगर, प्रकाश रंगाली, मिलन पुडासैनी, राक्सीराङका प्रहरी ईन्चार्ज जलेन्दर राय कुशवाहलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?