कुँजो

रेसका घोडाहरू सरह
प्रथम हुने होडमा
दौडिरहेका दिमागहरू
ठूल्ठूला म्यारथनमा जस्तै
सबैभन्दा पहिला
रेखी नाग्ने दौड़मा
कुद्दै गरेका गोड़ाहरू
बुलेट ट्रेन भन्दा अधिक रफ्तारमा
दौडिरहेका विचारहरू
हवाई जहाज भन्दा
चार गुणा धेरै
उडिरहेका सपनाहरू
सबै यथावत नै छन्
तर…टक्क रोकिएको छ संसार |

संसार यस्तरी रोकिएको छ कि
मानौ
हिमफेदीबाट बहदै आएको झर्ना
कुनै क्यामारामेनको क्यामारामा
कैद भए सरह रोकिएको छ
उड्दै गरेको एक हुल चराहरू
आकाशमै अडिएको छ
गुड्दै गरेका वाहानहरू
ट्राफिक लाइटको सिग्नलले
रोकिए झै रोकिएको छ टक्क
मानौ
संसार कुँजो भएको छ
उ न दौडिन सक्छ
न त
बसेको ठाउँबाट उठ्न
न पल्टिन सक्छ
न नै हिँड्न सक्छ
सक्छ त केवल
उ बोल्न सक्छ
उसले केवल बोल्न सक्छ
बोल्न बाहेक अरू
केही गर्न सक्तैन
किनकि संसार यतिबेला
कुँजो भाको छ |
उसको गुह मुत एकै ठाउँमा छ
उसको भोक पनि त्यही छ
उसको भोजन पनि त्यही छ
उसको लाज पनि त्यही छ
उसको अहम पनि त्यही छ
उसको पीडा पनि त्यही छ
उसको खुशी पनि त्यही छ
उसको विचार पनि त्यही छ
उसको ईर्श्या पनि त्यही छ
उसको सिद्धान्त नि त्यही छ
उसको संघर्ष पनि त्यही छ
उसको जीवन पनि त्यही छ
उसको मृत्यु पनि त्यही छ |

मैले भनिसके नि
संसार अहिले
कुँजो भाको छ |

यस कविताका लेखक अर्जुन दवाडी हुनुहुन्छ