कविता:- “बालचेत “
एस के निधन

ह्य्या ! झ्याउ लाओ
कत्ति लेख्नु हौ ?
कलम-क / खरायो-ख
गमला-ग /भकारी-भ
लेख्दिन के बाबा
हाम्रो नभाको घर घ

मैले नदेखेको भकारी भ ।

बाबा !
मैले आज
तपाईलाई सम्झेर गरिब ग लेखे
भाइलाई सम्झिएर कट्टु क लेखे
हाम्रो चुहिने छानो सम्झेर खर ख लेखे
छुच्ची मिसले थप्पड थ भन्दै पिटि
भोलि भुतल्छे रे बाबा

उसले भनेको लेखिन भने ।

बाबा !
मिसले परेवा प भन्छे
मैले तपाईंको पसिना सम्झिन्छु
मिसले दयालु द भन्छे
मैले काजिले कोपरेको दिदिको बुबु सम्झिन्छु
मिसले ठड्यौरो ठ भन्छे
मैले आमाको हातको ठेला सम्झिन्छु
म सक्दै सक्दिन बाबा

त्यसले भने जस्तै लेख्न ।

बाबा !
मेरो कापिमा मेरै पिन्सिले
मेरो ईच्छा लेख्न किन दिन्न त्यो मिसले ?
भन्दिनुस
मेरो छोरोको मनको कुरो लेख्न दे
नत्र
लेखेर टासिदिन्छु सुचना पाटिमा
रोटि र
आगो अ
बारुद ब
क्रान्ति क
झुपडी झ
जनबाद ज
मेरै कुरा लोख्न नदिने
छुच्ची मिस मुर्दाबाद

हापदिन्छु जाबो स्कुल ।