Coronavirus COVID-19

कविता: छाेराकाे प्रश्न – सुनिल गौतम

बाबा जान्न हुँदैन हाे ? अब यहाँ, नेपाल कत्राे थियाे ?
नक्सा भित्र अटेन आज कसरी, यस्ताे बनाई दियाे
मेचीकाे पनि चल्छ की ढुकढुकी,काली बिना नै उता,
साेध्छन् फाेकटमा सँधै सरहरु, याे देश खाेज्ने कता ?

कत्राे हुन्छ विशाल चित्र अथवा, नक्सा भनेकाे अनि ?
भाेटेले, दनुवारले, मगरले, कस्ले यसै भन्दिने ।
काक्राे झै छ चिरा चिरा मुलुककाे, छन् चाेट छाती भरी,
निन्द्रा छैन र छैन भाेक पनि ता, छन् शाेकमा मञ्जरी ।

मैले हास्नु हुदैन रे सहजले, दक्षिण् दुखेकाे हुँदा,
दक्षिण् हास्दछ नी खुलेर अहिले, याे काठमाण्डाै रुँदा ।
छाती हैन रहेछ पत्थरहरु, धड्किन्न देब्रे पट्टि,
फाेरूँ लाग्छ शिलाहरु पनि यहाँ, मान्छे कतै पाे छ कि

भैगाे घाम नलाग्नु नी सकसले, पर्दैन लाग्नू भने,
बाेल्नू हुन्न छिमेकले दशगजा, साेध्दै नसाेधी खने ।
कैल्यै बाँच्न सकेन त्याे सिकिमले, धाेकाे पुर्याई कन,
काेही छाै भन देशकाे सपथमा, ए राष्ट्रवादी ! भन ?

छाेरा लाज नमान भाे अति भयाे, भाला उठाऊ अब,
मातृ शाेक परे मिलेर सहुँला, याे देश हाे वास्तव ।
बाँच्छाै के जब मर्नु पर्छ सजिलै, माटाे उठाई कन
तिम्रै नाम हुनेछ वीर युगकाे, पुस्ता भरी संझन ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...