विश्वभर तीब्र गतिमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि मानिसहरूले मास्क लगाउन आवश्यक ठानेका छन् ।

अधिकांश मानिसहरूले माक्सको प्रयोग गरेपनि उचित तरिकाले प्रयोग गर्न जानिरहेका हुँदैनन् । अधिकांश मानिसहरूले प्रयोग गर्ने सर्जिकल मास्कका तीन तह हुन्छन् ।

सर्जिकल मास्कको पहिलो भागले पानी, रगत र अन्य तरल पदार्थलाई रोक्छ, दोस्रो भागले रोग जनक ब्याक्टेरिया तथा भाइरसहरूलाई फिल्टर गर्ने काम गर्छ भने भित्रपट्टिको भागले श्वास र पसिनालाई सोस्ने काम गर्छ ।

डब्लुएचओले ज्वोरो आएका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, रोगीको हेरचाह गरिरहेमा वा रोगीको ६ फिट जानुअघि मास्क लगाउन सुझाव दिएका छन् ।

सर्जिकल मास्कले ठूलो श्वासप्रश्वासको थोप्लाहरू छेक्न मद्दत गरेपनि यसले कोरोना भाइरस संक्रमणबाट बचाउन सक्दैन, जुन सार्स-कोभ -२ को नामले परिचित छ ।

किन भने सर्जिकल मास्कले सानो वायुजनित कणहरू फिल्टर गर्न नसक्नुका साथै, सबैको अनुहारमा फिट नहुने हुँदा हावाका कणहरू मास्कको छेउबाट सजिलै भित्र छिर्न सक्छन् ।

माक्स लगाउँदा केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । मास्क लगाउनुअघि २० सेकेन्ड साबुनपानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।

लगाउनअघि मास्क बिग्रेको छ वा छैन भनी जाँच गर्नुहोस् । बाहिरी भागमा मास्कको रंगीन भाग हुनुपर्छ ।

माक्सलाई कानमा अड्काएर मुख र नाक मास्कले मज्जासँग ढाक्नुपर्छ । अनुहार र मास्कबीच अन्तर छैन भन्ने निश्चित गर्नुहोस् ।

एक पटक लगाइसकेपछि मास्कलाई जथाभावी छोइरहनु हुँदैन । प्रयोग गरेको मास्क ओसिलो भएको खण्डमा नयाँ मास्क लगाउनुपर्छ ।

एकपटक प्रयोग गरिसकेको मास्क पुनः प्रयोग गर्नुहुँदैन । मास्क निकाल्नुअघि पनि हात धुन आवश्यक हुन्छ ।

मास्कको अगाडिको भाग नछोई बिस्तारि निकाल्नुका साथै यसलाई बन्द भएको ठाउँ, डस्टबिनमा फाल्नुपर्छ । र, फ्याकिसकेपछि पुनः साबुनपानीले हात धुनुपर्छ ।