Breaking
4 Dec 2024, Wed

कसरी गर्ने पार्टी मेकअप

 आजभोलि जस्तो खालको खुसियालीमा पनि पार्टी आयोजना हुन थालेको छ । विवाहको समयमा महिला तथा पुरुष आफूलाई राम्रो देखाउँदै पार्टीमा रम्न थालेको देख्न सकिन्छ । सामान्यतया वैवाहिक कार्यक्रम दिनको समयमा भए पनि पार्टी भने अधिकांशतः रातको समयमा आयोजना हुने गर्छन् । अरू धेरैजसो पार्टी पनि रातको समयमा नै हुने गरेको पाइन्छ । यस्तो समयमा मेकअपमा विशेष ख्याल गर्नुपर्ने भएकाले ब्युटिसियनहरूले पनि राम्रै काम पाइरहेका छन् । त्यसो त सामान्य मेकअप गर्न पार्लर नै जानुपर्छ भन्ने छैन । केही विशेष मेकअपलाई छाडेर अधिकांश मेकअप घरैमा गर्न सकिन्छ । पार्टीमा जानुअघि घरैमा मेकअप गर्ने तरिकाबारे ट्रेन्ड सेटर्सका म्यानेजर धनेश खड्काले केही टिप्स दिएका छन् :

पार्टीमा जानुअघि महिला तथा पुरुषले अनुहारमा रहेको अनावश्यक रौँलाई व्यवस्थित तरिकाले सही आकार दिनुपर्छ । स्किनको प्रकारअनुसार क्लिन्जर प्रयोग गरी अनुहार सफा गर्नुपर्छ ।

ड्राई कम्बिनेसन स्किन भएकाहरूले मेकअप गर्नु केही घन्टाअगाडि स्क्रब गर्नु उपयुक्त हुन्छ । यसले अनुहारमा चमक दिन्छ ।

आयली तथा ओपन पोर्स (छिद्रा) भएका व्यक्तिले अनुहार सफा गर्नुपर्छ । त्यसपछि नरम गिर्खा भएको स्क्रब प्रयोग गरी टोनर र टाइट प्याक लगाउनुपर्छ । टाइट प्याक भने मेकअप गर्नुभन्दा केही घन्टाअगाडि गर्नु राम्रो हुन्छ ।

मेकअप प्रोडक्ट प्रयोग गर्नुअघि आँखावरिपरि अथवा अनुहारको ‘टी जोन’मा मेकअप प्राइमर लगाउनुपर्छ । मेकअप प्राइमरअन्तर्गत आई प्राइमर, फेस मेकअप प्राइमर प्रयोग गरिन्छ ।

छालाको रङ तथा छालामा भएको दोषअनुसार कन्सिलर प्रयोग गर्नुपर्छ । विशेषगरी, अन्डर आई डार्क सर्कल र पिम्पलको दाग छोप्ने प्रयास गर्दा राम्रो हुन्छ ।

रातिको समयमा गर्नुपर्ने मेकअपका कारण विशेष ख्याल राख्नुपर्छ । त्यसैले छालाको टोनअनुसार थिक फाउन्डेसन प्रयोग गर्दा रातको समयमा राम्रो देखिन्छ ।

अनुहारको सेप मिलाउन सेडिङ कन्सिलर र कन्टोलिङ गर्नु उत्तम हुन्छ ।

महिलाले विभिन्न रङका कपडाअनुसार आइस्याडो प्रयोग गर्छन् । यस्तो कम्बिनेसन मिलाउन विभिन्न रङको ग्लिटर, सिमरी, म्याट लगाइन्छ । आइलाइनर, आर्टिफिसियल आइल्याफेज प्रयोग गरिन्छ । त्यस्तै, पुरुषले पनि आँखाको तल–माथिको कोषमा हल्का पेन्सिल लाइनर र क्लिन लाइनर प्रयोग गरी आँखालाई जीवन्त देखाउन सकिन्छ ।

महिलाले ओठमा लगाउने लिपस्टिक ग्लसर प्रयोग गर्नुपर्छ । त्यस्तै, पुरुषले भने पारदर्शी लिप ग्लस प्रयोग गर्नु राम्रो हुन्छ ।

Ad
Ad