Comments Add Comment

नयाँ आईजीपी ज्ञवालीले गरे खनालको बिदाइ

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ । आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लागेका खनाल लगायत प्रहरी अधिकृतहरुको मंगलबार साँझ एक समारोहका बीच बिदाइ गरिएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले खनाललाई बिदाइ गरेको प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । बिदाइ समारोहमा महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गालेको बताउँदै आफूले विभिन्न आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिएका थिए । उनले आफूमाथि गलत आरोप लगाउने प्रयास भएको भन्दै दुखेसो पनि पोखेका थिए ।

प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकालमा १० बुँदे सांगठनिक प्राथमिकता तय गरी कार्यान्वयनमा ल्याएको, समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत ७ सय ५३ स्थानीय तहसँग सम्झौता गरेको र यस कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले ‘गेम चेन्जर प्रोजेक्ट’ का रुपमा परिभाषित गरेको, भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको, विगत २ वर्षदेखि बेरुजु फर्छौटमा गृह प्रशासन अन्तर्गतका कार्यालयहरुमध्ये सर्वोत्कृष्ट ठहर भई पुरष्कृत भएको, १ सय ५८ वटा प्रहरी कार्यालय भवन निर्माण सम्पन्न तथा १ सय २२ निर्माणाधिन लगायतका काम भएको बताएका थिए । सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले सङ्गठनको नेतृत्व लिएर वर्तमान प्रहरी महानिरीक्षक खनालले सेवा अवधिमा गरेको कामको खुलेर प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर