Comments Add Comment

एमसीसी सदनको चालू अधिवेशनबाट चाँडै पारित हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता संसदको चालू अधिवेशनबाट चाँडै पारित हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले एमसीसीका विषयमा जनमानसमा एक किसिमको भ्रम फैलाइएको भए पनि सम्झौता उचित रहेको र चाँडै पारित हुने बताएका हुन् । ‘पुरानै सरकारले सम्झौता गरेको भए पनि उचित सम्झौता भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘संसदको यही अधिवेशनबाट एमसीसी चाँडै पारित हुन्छ ।’ उनले प्रेस स्वतन्त्रमा कुनै बन्देज नहुने पनि बताए । मनोबल गिराउने गरी समाचार प्रकाशन, प्रसारण तथा सम्प्रेषण नगर्न समेत प्रधानमन्त्रीको आग्रह थियो । प्रधानमन्त्री ओलीले मानव अधिकारको सुरक्षाका लागि सरकार दत्तचित्त भएर लागेको बताए ।

‘मानव अधिकार हननमा चिन्ता लिनु पर्दैन, कहीँ केही त्रुटी भएमा सच्याउन सकिन्छ’, प्रधानमन्त्री ओलीले भने । उनले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्राथमिकता नदिन समेत आग्रह गरेका छन् । ‘विप्लव नामको समूह पैसा लुट्न, आतंक मच्चाउन हिँडेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘अब अर्को क्रान्ति जरुरी छैन कल्पना पनि नगर्नुस्, विप्लव समूह व्यवस्था सुधारका नाममा अर्थ संकलनमा उद्दत छ ।’ उनले बम, बन्दुक सहित पक्राउ परेका केही मानिसहरु छुटेको भन्दै यसमा राज्य संयन्त्रको भूमिका कमजोर रहेको स्वीकार गरे । उनले वर्तमान सरकार आन्दोलनको उपच भएको हुँदा जनताप्रति पूर्ण उत्तरदायी हुने प्रष्ट्याए । प्रधानमन्त्री ओलीले पार्टी तथा सरकारलाई धेरै चुनौती भए पनि यसको सामना गर्न आफू तयार रहेको बताए । ‘जुनसुकै परिवर्तन सम्झौतामा टुंगिएको हुँदा सबै भनेको जस्तो पूरा हुन सम्भव हुँदैन, यस्तो अवस्थामा पनि सरकारले धेरै काम गरेको छ ।,’ प्रधानमन्त्री ओलीले भने । उनले आफ्नो स्वास्थ्य अवस्थाका विषयमा समेत सम्पादकलाई जानकारी गराएका थिए । आफूले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्ने जानकारी दिँदै अझै आफू तीन वर्ष प्रधानमन्त्री रहने समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर