हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गर्ने निर्णय गरेको लामो समय पछि निर्माण भएको चलचित्र ‘सेन्टिभाइरस’को फर्स्ट लुक पोस्टरका साथमा रिलिज मिति सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा धुर्मुसलाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ । उनी कुनै कुराले वा सोचले पिल्सिएको देख्न सकिन्छ । यसै गरी चलचित्र आगामी फागुन ९ गते बाट अल नेपाल प्रदर्शनमा आउने भएको छ । योसँगै फागुन ९ मा तीन चलचित्रको भिडन्त हुने भएको छ । ‘एन्टी भाइरस’देखी ‘छल कपट’ बाट ‘सेन्टी भाइरस’ नाम जुरेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । धुर्मुस सुन्तलीको मुख्य भूमिका रहेको चलचित्रको यति बेला सम्पादन कार्य भइरहेको छ ।
चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् भने चलचित्रको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । चलचित्रमा अभिनेता दयाहाङ राई अतिथि भूमिकामा रहेका छन् । चलचित्रको एक गीत खिच्न बाँकी रहेको छ । ‘सेन्टिभाइरस’मा सितारामका अलावा कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्र रुपाकोट र पोखरामा छायाङ्कन भएको छ भने सामाजिक कथामा आधारित रहेको बुझिएको छ ।








