Comments Add Comment

महराले राजीनामा दिएको कि कार्यभार सुम्पेको ? : कांग्रेस

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाको भाषामाथि प्रश्न उठाएको छ।

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सभामुख महराले मंगलबार राजीनामा दिएका थिए। उपसभामुख समक्ष पेश गरिएको राजीनामा पत्रको भाषा प्रष्ट नभएको कांग्रेसको भनाइ छ।

मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रष्ट रूपमा राजीनामा दिनुपर्ने बताए। ‘सभामुखले राजीनामा दिएको कि विदेश जाने बेलामा दिएको जस्तो कार्यभार सुम्पेको?,’ शर्माले प्रश्न गरे, ‘राजीनामाको भाषा हेर्दा कार्यभार दिएको जस्तो देखिन्छ।’ उनले नेकपा नेतृत्व गम्भीर हुनुपर्ने भन्दै प्रष्ट रूपमा राजीनामा आउनु पर्ने माग गरे।

कानुनबमोजिम महरामाथि छानबिन गर्न कांग्रेसले माग गरेको छ। ‘कानुनको नजरमा सबै समान छन्। यो घटना कानुनबमोजिम अघि बढ्नु पर्छ,’ उनले भने, ‘संसद सभामुखविहीन हुन सक्दैन। राजीनामा भाषा हेर्दा मार्गमा उभिएर महराले मार्ग प्रशस्त गरेजस्तो मात्रै देखिन्छ।’

सभामुखको निर्वाचनका बेला कांग्रेसले उम्मेदार नउठाएर महरालाई समर्थन गरेको थियो नि भन्ने पत्रकारको प्रश्नमा शर्माले भने, ‘त्यसबेला परिस्थित अर्कै थियो। साझा सभामुख बनाउन उम्मेदारी दिएनौं तर अहिले उहाँले आफ्नो चरित्र प्रस्तुत गर्नुभयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर