काठमाडौं । नेपाली डिजिटल बजारमा अग्रणी स्थानमा रहेको ओएसआर डिजिटल युट्युब च्यानलले ऐतिहासिक सफलता हात पारेको छ। ओएसआरले १ करोड (१० मिलियन) सब्स्क्राइबर पार गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। यो उपलब्धि हासिल गर्ने ओएसआर पहिलो नेपाली अफिसियल र व्यवसायिक युट्युब च्यानल बनेको छ।

संस्थाको अनुसार, यो सफलता २५ वर्ष लामो यात्रा, निरन्तर मिहिनेत र दर्शकको विश्वासको परिणाम हो। प्रबन्ध निर्देशक ओम अग्रवालले यो अवसरमा दर्शक, कलाकार, संगीतकर्मी तथा सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता जनाए।

उनका अनुसार, ओएसआरको यात्रा भिडियो सिडी (VCD) र डिभिडी (DVD) बाट सुरु भई आज डिजिटल युगमा युट्युबको विशाल परिवारसम्म पुग्न सफल भएको हो। “दर्शकको हरेक भ्यु, लाइक र कमेन्ट हाम्रो ऊर्जा हो,” अग्रवालले भने, “दर्शकको निरन्तर साथ र माया नै हाम्रो प्रेरणाको मुख्य स्रोत बनेको छ।”

ओएसआर डिजिटलले हालसम्म नेपाली चलचित्र, गीत–संगीत, वेब सामग्री र मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्दै डिजिटल बजारमा आफ्नो उपस्थिति मजबुत बनाएको छ। संस्थाले अब अन्तर्राष्ट्रिय बजारमा पनि सामग्री विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।

ओएसआरको अन्य सहायक च्यानलहरू — ओएसआर रियालिटी र ओएसआर मुभिज पनि सक्रिय छन्, जसमा हाल क्रमशः २ मिलियनभन्दा बढी सब्स्क्राइबर रहेका छन्।

यस ऐतिहासिक उपलब्धिसँगै ओएसआर डिजिटलले नेपाली मनोरञ्जन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउँदै डिजिटल क्रान्तिको मार्गदर्शक बनेको छ।