हेटौंडा –  हेटौंडा–११ स्थित हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आफ्नो २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रमका साथ मनाउने तयारी गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले यही फाल्गुन २३ गते विभिन्न कार्यक्रमसहित यो दिवस मनाइने जानकारी गराए।

विद्यालयका विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम, विज्ञान तथा प्रविधि प्रदर्शनी, हस्तकला तथा चित्रकला प्रदर्शनी, पुस्तक मेला, खेलकुद सामग्री प्रदर्शन तथा खाना महोत्सव प्रस्तुत गर्नेछन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. श्री चन्द्रमणी पौडेल उपस्थित रहनेछन्। विशिष्ट अतिथिका रूपमा एल आर आइ (LRI) विद्यालयका संस्थापक प्राचार्य शिवराज पन्त तथा चितवन मेडिकल कलेज भरतपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेको उपस्थिति रहनेछ।

विद्यालयका संस्थापक अध्यक्ष तथा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न हुनेछ। पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गी, प्रमुख अधिकृत रमेश रिमाल, प्रिन्सिपल धिरज क्षेत्री बोगटी लगायतको सहभागिता रहेको थियो।