देउसीमा गुञ्जिरहेको ‘बेशीगाईको गोठ’ (भिडियोसहित)

काठमाडौं : छोटो समयमै पूर्वेली लोक जुहारी ‘बेशीगाईको गोठ’ गीतले चर्चा पाएको छ। कात्तिक १५ गते अर्थात् लक्ष्मी पूजाको दिन सार्वजनिक भएको उक्त गीत यस वर्षको तिहारमा देउसीभैलोमा धेरै गुञ्जियो।

विशेषगरी पूर्वेली व्यक्तिहरू र किरात राई समुदायले मन पराए। देउसीभैलोमा बजाइरहे। गायक राज राईको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको गीतले हालसम्म ४२ हजार २ सय ७५ भ्युज पाएको छ।

गीतमा गायक/गायिका अभय ढुंगेल,राज राई,एलिना राई र सुस्मिता कटवालको स्वर छ। शब्द अभय ढुङ्गेलको छ भने लय संकलन राज राईको छ। संगीत संयोजन शिला बहादुर मोक्तानको रहेको छ।

भिडियोमा भने बढी किरात वाम्बुले राईको ऐतिहासिक चाडपर्वलाई देखाइएको छ। त्यस्तै बिहे,देउसी भैलाेलाई देखाइएको छ। गीत चर्चित भएपछि गायक राईले खुसी व्यक्त गरे। अर्का गायिका एलिना खुसी साट्दै भन्छिन्,‘यति छोटो समयमै यति धेरै माया प्रेम दिँदै हुनुहुन्छ,हामी एक दमै आभारी छौँ,यसैगरी माया आशीर्वाद दिँदै जानुहोला।’

पहिलै गीत सुनिएको भन्नेमा यसो भन्छन् राई 

छोटो समयमा चर्चा पाएको उक्त गीत पहिलै छिटपुट सुनिँदै आएको भन्ने पनि छ। ‘मैले लय संकलन मात्रै गरेको हुँ,मेरो संगीत हाेइन, हो भनेको पनि छैन,यो गीत २०५३,५४ सालतिर घरको दु:खले गर्दा म उदयपुरको कटारी बजारमा भारी बोक्न गएर फर्किने बेलामा भोर्ले भन्ने ठाउँमा एकराते भोर्ले बजार लाग्दो रहेछ,त्यही एक राते बजारमा त्यहाँका बासिन्दाहरूले गाएको सुनेको भाका हो’, यस विषयमा लय संकलन गरेका राज भन्छन्,’ त्यो बेला वरिष्ठ गायक तथा संगीतकार शम्भु राई दाजुको सल्लेरी वन पर्‍याे भन्ने गीत पनि अडियो क्यासेटमा खुबै चलेको थियो।’

उनले त्यसपछि ३ वर्ष अगाडि पनि ओखलढुंगाको खिजी फलाटे भन्ने ठाउँमा साङ्गीतिक कार्यक्रमको लागि जाँदा पनि यो गीत सुनेको बताए। ‘त्यसपछि मैले काठमाडौंं आएर हार्मोनियममा बजाएर गाउँदा सार्है मन पर्‍याे, राम्रो लाग्यो, त्यसपछि रेकर्डिङ गर्ने सोच बनाएको हुँ,’ उनले भने,‘तर,बाध्यताबस आर्थिक कारणले गीत रेकर्ड गर्न ढिला भयो,पोहोरको तिहारमा युट्युबमा एक जनाले हाल्नुभएछ त्यसपछि गीत भाइरल भयो फेसबुकमा।’

उनले ओरिजिनल गीत चाहिँ आफ्नै मोबाइलमा रहेको र यसपालि चाही बजारमा ल्याएको जानकारी दिए। उनले भने, ‘दशैँमै गीत सार्वजनिक गर्ने सोच बनाएको थिए,तर केही आर्थिक कारण सकिएन र यो तिहारमा सार्वजनिक गरेको हुँ,त्यसैले यो गीत भोर्ले बजारबाट ल्याएको हुनाले मैले लय सङ्कलन लेखेको छु, मेरो सङ्गीत भनेर लेखेको छैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad