लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु झुन्डिएरै भएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा देखिएको प्रहरी स्रोतले बताएको छ। पोस्टमार्टम रिपोर्टबाट आत्महत्यालाई नै जोड पुर्‍याएको एक अनुसन्धान अधिकृतले बताए। प्रहरी स्रोतले उनको मृत्यु घाँटी थिचेर भएको नदेखिएको बताएको छ।

प्रहरीले यो घटनामा सुनारका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। श्रेष्ठबिरुद्ध परिवारले कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दिइसकेको छ। प्रहरीले श्रेष्ठलाई पाँच दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ। सुनार शनिबार बिहान पौने ११ बजे कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। उनको फेसबुकमा शनिबार राति १ः१० बजे ‘धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोस्ट गरिएको थियो।