काठमाडौं । रिपोर्टर्स क्लब नेपालले २४औं वार्षिकोत्सवमा वितरण गर्ने विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ। क्लबले यही चैत १७ गते काठमाडौंमा गर्ने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले ती पुरस्कार वितरण गर्ने जनाएको छ।

यस वर्षको १ लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ। १ लाख रुपैयाँ राशिकै तेजेन्द्र—सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई दिइने भएको छ। यी दुवै पुरस्कार क्लबले पहिलोपटक दिन लागेको हो।

क्लबले हरेक वर्ष प्रदान गर्दै आएको ५० हजार रुपैयाँ राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार कुलचन्द्र न्यौपानेलाई दिने निर्णय गरेको छ। क्लबका संस्थापक सभापति ऋषि धमलाका मातापिताको स्मृतिमा स्थापित ४० हजार रुपैयाँ राशिको कुलप्रसाद—चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार अनलाइनखबर न्युज पोर्टलका पत्रकार विनोद घिमिरेलाई प्रदान गरिने भएको छ।

जनही २५ हजार रुपैयाँ राशिका वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका पत्रकार सुरेश यादव, शहीद जगतप्रकाश जंग शाह स्मृति पत्रकारिता पुरस्कार राससका पत्रकार कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोष्ट अनलाइन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमासिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी पत्रकार सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका रोशन सापकोटालाई दिने निर्णय गरिएको छ।

प्राइम टाइम्स टिभीका पत्रकारद्वय बालकृष्ण गौतम र डेबिड पाण्डेलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार—२०७८ बाट पुरस्कृत गरिने क्लबको पुरस्कार छनोट समितिका सदस्य ईश्वर कार्कीले बताए। गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार र मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार भने घोषणा हुन बाँकी छ।