एमाले मकवानपुरको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार हेटौंडा– ५ स्थित पुष्पलाल पार्कमा रहेको एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको सपथग्रहण कार्यक्रममा एमालेका निवर्तनमान अध्यक्ष तथा अध्यक्ष पदका प्रत्याशी बद्रीप्रसाद लम्सालको सहभागितामा सपथ ग्रहण गरेको थियो । पुस २३–२४ मा भएको ११ औं जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो ।

कार्यक्रममा एमाले जिल्ला अधिवेशनका निर्वाचन प्रमुख अर्जुन अर्यालले जिल्ला अध्यक्ष श्रेष्ठलाई सपथग्रहण गराएका थिए । अध्यक्षको सपथग्रहण पछि श्रेष्ठले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नवीन सिग्देल, उपसचिवहरु हिदम लामा तथा सीता विष्ट र सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वादोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथग्रहण गराएका थिए । सपथग्रहण समारोहमा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहालसहितका नेताहरुको आतिथ्यता रहेको थियो ।