उपाधि दाबेदार थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै एपिएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा खाता खोलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपिएफले बलियो थ्री स्टारलाई रोक्दै जारी लिगमा एक अंक जोड्न सफल भएको हो। यसअघिका खेलमा नतिजा सुम्पिएको एपिएफले आइतबार सुधारिएको खेल देखाउन सफल भएको हो।

खेल अवधिभर थ्री स्टारविरुद्ध एपिएफले तीन अंक जोड्ने लक्ष्यसाथ खेलेको थियो। तर, पटक–पटकको आक्रमणलाई थ्री स्टारका गोलकिपर प्रिसोले विफल पारेका थिए। बराबरीसँगै उपाधि दाबेदार थ्री स्टारलाई उपाधि होडमा धक्का लागेको छ। चार खेलमध्ये २ मा बराबरी, एक हार र एक खेलमा नतिजा निकालेको थ्री स्टारले ५ अंक जोडेको छ। तालिकाको पुछारमा रहेको टोली एपिएफसँग आइतबार प्रतिस्पर्धा गर्दा थ्री स्टारले दबाब खेप्नुपरेको थियो। उता, खाता नै खोल्न नसकेकाले दबाबमा परेको एपिएफले सुरुबाटै आक्रामक खेल देखाएको थियो।

बराबरीले एपिएफलाई जारी लिगमा पहिलो अंक हात लाग्दा रेलिगेसन क्षेत्रमा एक स्थान सुधार गरेको छ। १ अंक मात्र जोडेको थ्री स्टार पाँचाँै स्थानमा छ। चौथो चरणका खेल चलिरहँदा मनाङ मस्र्याङ्दी १० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा मच्छिन्द्र फुटबल क्लब समान १० अंकका साथ दोस्रो स्थानमा छ। त्रिभुवन आर्मी फुटबल क्लब ८ अंकका साथ तेस्रो स्थानमा छ। लिगमा आज दुई खेल हुनेछन्। पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेल जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ। दुबै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन्।