भाद्र १९, विहिबार । सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन भए ÷नभएको कडा निगरानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्ने विद्यालय भए त्यसबारे जानकारी गराउन संस्थागत विद्यालय शिक्षक युनियनलाई पनि आग्रह गर्नु भयो । युनियनका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भएको भेटमा उहाँले श्रमिक शिक्षकहरुलाई न्यूनतम वेतन नदिएको पाइए कडा कार्वाही हुने चेतावनी पनि दिनु भयो ।

मन्त्री विष्टले श्रमिकहरुको न्यूनतम वेतन, वेतनको बैकिङ प्रणालीमार्फत् भुक्तानी गर्ने तथा हरेक श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा नल्याउने कुनै पनि संस्थामाथि कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।मन्त्री विष्टले सरकारले सबै श्रमिकहरुको हितलाई ध्यानमा राखेर सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको पनि स्मरण गराउनु भयो ।