नेपाल सरकारले जयसिंह धामीको संदिग्ध मृत्यु र भारतीय विमानद्वारा नेपाली आकाश क्षेत्रको उल्लंघनप्रति विरोध जनाउँदै भारत सरकारलाई पत्र पठाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार धामी प्रकरणमा शुक्रबार र नेपाली आकाशको उल्लंघनबिरुद्ध आइतबार कूटनीतिक च्यानलमार्फत विरोधपत्र पठाइएको हो।

करिब एक महिनाअघि तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलका जवानद्वारा डोरी फुस्क्याइँदा तुइन खसी बेपत्ता ३४ वर्षीय धामी फेला परेका छैनन् र उनको मृत्यु भएको आशंका गरिएको छ। गृह मन्त्रालयले जनआक्रोश समेत बेवास्ता गर्दै छानबिन प्रतिवेदन आइसकेपछि पनि भारतसमक्ष विरोध प्रदर्शन गर्न आनाकानी गर्दै आएको थियो। अन्ततः गत बिहीबार गृहले परराष्ट्र मन्त्रालयमा पत्र पठाएपछि शुक्रबार कूटनीतिक च्यानलमार्फत परराष्ट्र मन्त्रालयले विरोधपत्र पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यसैगरी सीमावर्ती दार्चुला क्षेत्रको नेपाली आकाशको भारतीय विमानद्वारा पटकपटक उल्लंघन भएपछि त्यसबिरुद्ध पनि आइतबार विरोधपत्र पठाइएको हो। देशसञ्चारबाट साभार