सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को बैठकले जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायतास्वरूप करिब रु पाँच अर्ब ५४ करोड बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नै नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि करिब रु पाँच अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।त्यसैगरी बैठकले जलवायु परिवर्तनसम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्यका रूपमा सहभागी हुने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८र८९ का लागि विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको छ । निजामती सेवा दिवसका अवसरमा विभिन्न ४० निजामती कर्मचारीलाई पुरस्कार दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । दार्चुलाको व्यास गाउँपालिकाको छाङ्ग्रुमा स्थापना भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बस्ने ब्यारेक भवन निर्माण गर्ने निर्णय पनि बैठकले गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले बताए ।