सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। विश्व पौडेललाई नियुक्त गरेको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई योजना आयोगको जिम्मेवारी दिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा अघिल्लो पटक सरकार गठन हुँदा उनी योजना आयोगकै सदस्य थिए।
यस्तै सरकारले अघिल्लो सरकारले नियुक्त गरेका दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ। बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। माओवादी पृष्ठभूमीका शेरचन अघिल्लोपटक गण्डकीका प्रदेशको प्रमुख थिए। गुरुङ भने चितवनका पुराना कांग्रेस नेता हुन्। सरकारले ओली नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएको छ।