नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बिहान भेट्ने कार्यक्रम तय गरेको छ । आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने शीतलनिवास पुगेर आइतबार साँझ नै भेट गरेको थियो। भेटका क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीसँग आज बालुवाटारमा भेटेलगत्तै चिनियाँ टोलीले नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै र सामूहिक भेट गर्ने कार्यक्रम तय भइसकेको छ। नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको हो। चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आइपुगेको बुझिएको छ।