काठमाडौं । न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रस्तोता बिना प्रसारण भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर कार्यक्रम प्रस्तोता रवि लामिछानलाई प्रहरीले नियन्त्रणमा लिएपछि बिना प्रसारण भएको हो । 

नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै सञ्चारकर्मी लामिछानेसहित ३ जनालाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो । 

४ मिनेट १९ सेकेण्डको कार्यक्रममा रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसलाई हाइलाइट गरेर प्रसारण गरिएको छ ।

रवि लामिछानेसहित सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु तीनै जनालाई अनुसन्धानको लागि चितवन लगिएको छ । 

पत्रकार पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए ।

भिडियो सामाजिक सञ्जालमा सनीसनीपूर्णरुपमा छाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गर्न बाध्य भएको हो ।