यस वर्षको आज अन्तिम साउने सोमबार देशभरका विभिन्न शिवालयमा भक्तजनहरुको बाक्लो भिड लागेको छ । काठमाण्डौँको पशुपतिमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको थियो । महिनाभरि बसेको व्रत समापन गर्ने दिन भएकाले पनि आजको दिनलाई शिवका भक्तहरुले विशेष रुपमा लिने गर्छन् ।
साउन महिना भगवान् शिवलाई मन पर्ने भएकाले हरेक सोमबार शिवको पूजाआराधना गरिन्छ। साउनको सोमबार पूजाआराधना गरेर भगवान शिवलाई खुसी पार्न सके मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पूरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ। विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पूजाआराधना गर्दै वत बस्ने गर्छन्। आजदेखि बोलबम यात्रा पनि समाप्त भएको छ।