कोरोना महामारीको यस विषम परिस्थितिमा विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै नेपाल पत्रकार महासंघले सूचना तथा प्रशारण विभागमा प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन ।
पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए । सरकारलाई दबाव दिन विभाग अगाडी लालटिन बाँधेर प्रदर्शन गरिएको उनले बताए । लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए । सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न अवरोध गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उनले चेतावनी दिए । जागिरबाट निकालिएपछि आन्दोलित पत्रकारहरुको मागमा नेपाल पत्रकार महासंघले ऐक्यवद्धता जनाएको छ ।