इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविक विजेता मुम्बई इन्डियन्स तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । आइतबार बेलुका सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । जितका लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन बनायो । १९ औं ओभरमा जस्प्रित बुमराहले २ विकेट लिदै १० रन मात्र खर्चेपछि हैदराबादको जित टाढिएको थियो । अन्तिम ६ बलमा ३७ रन चाहिएको थियो । तर पोलार्डले २ रन मात्र दिए । पहिलो बलमा राशिद खानलाई दुई रन दिएका थिए । पोलार्डले अन्य पाँच बल लगातार डट राख्दै जित पक्का गरे ।
मुम्बईले छैटौं खेलमा मंगलबार राजस्थान रोयल्ससँग खेल्ने छ । हैदराबादले छैटौं खेलमा किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ४ खेलमा १ मा हार र ३ मा जित सहित ६ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।