अस्ट्रेलियास्थित नेपाली दूतावासले अस्थायी राहदानी जारी नगर्ने

अनलाइन पत्र संवाददाता२०७६-०४-२१ No Comments

अस्ट्रेलियास्थित नेपाली दूतावासले अर्को महिनाबाट हस्तलिखित अस्थायी राहदानी जारी नगर्ने भएको छ।

दूतावासले सोमबार सूचना जारी गर्दै अस्ट्रेलिया तथा प्रशान्त क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकको अध्यागमन सहजताका लागि जारी गर्दै आएको अस्थायी राहदानी भदौ १ देखि बन्द गर्ने जानकारी दिएको छ।

दूतावासे सो क्षेत्रमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई अस्ट्रेलियाको भिसालगायत अध्यागमन सहजताका लागिमात्र तत्काल राहदानी आवश्यक परेको अवस्थामा दिने गरेको यस्तो सुविधा रोक्ने निर्णय गरेको हो।

कतिपय अस्थायी राहदानीबाहक हस्तलिखित अस्थायी राहदानीमा यात्रा गर्दा अस्ट्रेलियाको तथा ट्रान्जिट मुलुकको अध्यागमन र नेपालको अध्यागमनमासमेत समस्यामा परेपछि रोक्नुपरेको दूतावासको भनाइ छ।

दूतावासले समस्यालाई न्यूनीकरण गर्न नेपालले इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन (आइसिएओ)मा प्रतिबद्धताअनुसार हस्तलिखित राहदानी पूर्णरुपमा विस्थापित गरी ‘मेसिन रिडेबल पासपोर्ट (एमआरपी)’ मात्रै जारी गर्नका लागि यस्तो कदम चाल्नुपरेको जनाएको छ।

दूतावासले अस्ट्रेलिया, न्युजिल्यान्ड तथा प्रशान्त क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकलाई समयमा नै एमआरपी पासपोर्टका लागि निवेदन दिनसमेत सचेत गराएको छ।

Ad
Ad